वैद्यनाथ वेद विद्याश्रमलाई महालक्ष्मी विकास बैंककाे आर्थिक सहयोग



काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई एक लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस् भन्ने हेतुले उक्त सहयोग गरेको हो।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन्।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ।