काँग्रेस जिल्ला सभापतिहरुलाई देउवाले भने ‘मिलेर जाऔँ’

केन्द्रीय समितिको निर्णय सच्चाउने वारे बोलेनन् ?


नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका सबै पक्षलाई समेटेर अगाडी बढ्न तयार रहेको बताउनु भएको छ ।

पार्टी भित्र आन्तरिक विवाद सुरु भएपछि काठमाडौं पुगेका जिल्ला सभापतिहरूलाई आज आफ्नै निवासमा बोलाएर गरेको छलफलमा सभापति देउवाले पार्टी सबैको भएको र यसलाई बचाउने दायित्व पनि सबैको भएको बताउनुभयो ।

आगमी १४ औं महाधिवेशनमा एकमत भएर जानका लागि पहल गर्ने वचन पनि दिएको भेटमा सहभागी नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिनुभयो ।

जिल्ला सभापतिको छलफलपछि तयार भएको ज्ञापनपत्र सभापति शेरबहादुरलाई पढेर सुनाइएको थियो। विधानको धारा निलम्बन र विभागहरूको गठनको विषयमा ध्यानार्कषण गराउँदै जिल्ला सभापतिहरूले गुटगत भन्दा स्वतन्त्र काम गर्न सुझाव दिएका थिए ।

पार्टी सभापतिले गुटगत भागबण्डा गर्ने होइन स्वतन्त्र रुपमा गर्नुपर्ने भन्दै विधानमा ६ महिनाभित्र गठन गरिसक्ने विभागहरू किन भएनन् वा सभापतिले आवश्यक किन ठानेन भन्ने कुरा प्रष्ट पार्नुपर्ने माग जिल्ला सभापतिहरुले गरेका छन् ।

त्यसक्रममा सभापति देउवाले आफू मिलेर जान तयार रहेको र वार्ता कमिटीले भनेअनुसार अघि बढ्ने बताएको केसीले जानकारी दिनुभयो ।
वार्ताटोलीका बीचमा जहाँबाट कुरा बिग्रेको हो त्यहीँबाट पुन सुचारु गर्न आफू तयार रहेको सभापति देउवाको भनाई थियो ।

यद्यपी, सभापति देउवाले मिलेर अघि बढ्ने बताएपनि केन्द्रीय समितिको निर्णय सच्चाउने वा नसच्चाउने भन्नेबारे केही नबोलेको बताइएको छ । जिल्ला सभापतिहरुले भने ११ गते बैठकको निर्णय सच्याएर १४ औँ महाधिवेशनको मिति तय गर्नुपर्ने माग गरेको केसीले बताउनुभयो ।