बूढानिलकण्ठ दुर्घटनाः कार भित्र रहेको नायिका परमिताको स्वीकार



काठमाडौँ – मसिंर अन्तिम साता बूढानिलकण्ठमा भएको कार दुर्घटनामा आफू कार भित्र रहेको नायिका परमिता राज्य लक्ष्मी राणाले स्वीकार गरेकी छन्।

आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस लेख्दै उनले कारमा भएका ४ जनामा आफू पनि एक भएको बताएकी छन्।मसिंर २८ गते ४२ वर्षे लिला देवकोटालाई बूढानिलकण्ठ – ५ मा बाटोमा हिँड्दै गर्दा बा १४ च ६१२३ नंबरको कारले ठक्कर दिएको थियो।

स्थायी घर गोरखा भई अहिले विष्णुमति बस्ने लिला देवकोटाको बाटोमा नै निधन भएको थियो। गाडी २१ वर्षका पृथ्वी मल्लले चलाएका थिए। उनले अत्यधिक मदिरा सेवन गरी कार चलाएको प्रहरीले जनाएको थियो।

ती युवति परमिता नै हो भन्ने कुरा सार्वजनिक गरिएको थिएन। नायिका राणा आफैले त्यो कारमा आफू भएको बताएकी हुन्। परमिताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सबैभन्दा पहिले म माफी माग्न चाहन्छु ।

चार व्यक्तिले गरेको मुर्खतापूर्ण निर्णयका कारण एक निर्दोष व्यक्तिको ज्यान गयो । यो सत्य नहोस् र मात्रै खराब सपना होस् भन्ने चाहना भए पनि म पनि त्यो मुर्ख निर्णय गर्ने मध्ये एक हुँ । म पनि सो कारमा थिएँ ।’

ठूलो हिम्मत गरेर घटनाप्रति माफी माग्ने आँट गरेको बताएकी परमिताले अघि लेखेकी छन्, ‘माफी माग्न यति ढिला गरेकोमा पनि माफी चाहन्छु, म अझै पनि सो दुर्घटनाबाट विचलित अवस्थामा छु त्यसैले यति ढिला गरेँ । अप्रत्याशित घटनाले मलाई स्तब्ध बनाएको छ ।’

परमिताले लेखेकी छन्, ‘सन्तानले ममतामयी आमा गुमाए, श्रीमानले सहयोगी श्रीमतीको साथ गुमाए, मात्रै मुर्खतापूर्ण निर्णयका कारण । म हरेक दिन भारी मन र गम्भीर पीडामा बिउँझिन्छु, यो भगवानलाई मात्रै थाहा छ ।

सो घटनाले मेरो जीवन नै परिवर्तन गरेको छ र कहिले पनि पहिलेको जस्तो हुन सक्ने छैन ।’ आफ्नो मात्रै होइन अरुको रक्षा पनि जिम्मेवारी हो भन्ने कुरा पहिले नै बुझेको भए हुने जस्तो लाग्ने गरेको उनले उल्लेख गरेकी छन् ।

दुर्घटना लगत्तै आफू अत्तालिएको र डराएकाले भागेको उनले उल्लेख गरेकी छन् । परमिताले घटनाको विवरण भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी छन् । त्यसमा कारमा रहेका पुरुष साथीले आफूलाई बाहिर तानेर भाग्न भनेको दाबी गरेकी छन् ।

Today, I have finally collected all the courage I have left inside me and have decided to tell you all what exactly had…

Posted by Paramita RL Rana on Tuesday, January 7, 2020