केही वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्नु हुँदैन: खतिवडा



काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले एक/दुई वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्न नहुने बताएका छन् । नेपाल निर्यात परिषद्ले ‘चौथो निर्यात दिवस २०७६’ का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले एक/दुई वटा वस्तुको निर्यातमा भन्दा वस्तु विविधिकरण गरी निर्यात बढाउनुपर्ने बताए ।

उनले खास वस्तुमाथि केन्द्रीत भएर बहस गर्नुभन्दा बढी मूल्य आउने वस्तु उत्पादनमा जोड दिई निर्यात बढाउनुपर्ने बताए । उनले नेपालको हस्तकला, कृषि उत्पादनको निर्यात गरेर केही अर्बमा मात्र व्यापार हुने बताउँदै खर्बौंमा निर्यात गर्ने सोच बनाउनुपर्नेमा जोड दिए ।

त्यसका लागि कच्चा पदार्थ अयात गरी बढी मूल्य जोडी निर्यात गर्न सकिने वस्तु उत्पादनमा व्यवसायीहरु लाग्नुपर्ने उनले बताए । यसबाहेक केही प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादन हुने वस्तुको निर्यातमा समेत लाग्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिव्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निर्यातजन्य वस्तुमा सहयोग दिएको अवस्थामा पनि उत्पादन बढ्न नसक्नुको कारण खोज्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात जन्य वस्तुको भुक्तानी लिन समस्या रहेको बताए । निर्यात पछि पनि भुक्तानी लिन लामो समय लाग्ने भएकाले डिजिटल भुक्तानीको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कुनैपनि उद्योग मार्जिनबाटै चल्ने भएकाले बढी भ्यालु जोडिने वस्तुको उत्पदनमा जोड दिनुपर्ने र निर्यातलाई तीव्र रुपमा बढाउनुपर्नेमा जोड दिइएको थियो ।