संसदीय सुनुवाई समितिद्वारा न्याय परिषद सदस्यमा निराला अनुमोदन



सरकारले  न्याय परिषद सदस्यका लागि सिफारिस गरेका लक्ष्मीबहादुर खड्का निरालाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिमा आइतबार भएको सुनुवाईपछि समितिले उनको नाम अनुमोदन गरेको हो ।

सुनुवाईको क्रममा निरालाले आफू चोखो रहेको दाबी गरे । राजाको प्रत्यक्ष शासनकालका बेला महान्यायाधीवक्ता रहेको उनलाई केपी शर्मा ओली सरकारले पुस ३ गते न्याय परिषदमा सरकारका प्रतिनिधिका रुपमा सिफारिस गरेको थियो ।

सुनुवाईको क्रममा निरालाले २०६२–६३ को जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको रायमाझी आयोगले अरुलाई दोषी भने पनि आफूलाई निर्दोष भनेको बताए । संविधान र कानून अनुसार नै काम गर्ने बताएका निरालाले आफूमाथि प्रश्न उठेकै दिन परिषदबाट बाहिरिने बताउँदै भने, ‘म गन्हाएर निस्किने छैन ।’

सुनुवाई समितिमा रहेको सांसदहरुले निरालाको योजनाबारे सोध्नुको सट्टा उनको प्रशंसा बढी गरेका थिए ।