शरीरको ९० प्रतिशत भाग जलेकी उन्नाव बलात्कार घटनाकी पीडितको मृत्यु



उन्नाव बलात्कार घटनाकी पीडितको शुक्रबार अबेर राति निधन भएको छ । भारतको राजधानी दिल्लीको सफदरजंग अस्पतालमा उनको निधन भएको हो ।

पीडितलाई बिहीबार उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । सफदरजंग अस्पतालको बर्न एण्ड प्लाष्टिक विभागका प्रमुख डा. शलभ कुमारका अनुसार ती पीडितको राति १२ बजेतिर निधन भएको हो ।

डा. शलभ कुमारले भने, ‘उनलाई राति १२ बजे तिर हृदयघात भयो । हामीले बचाउने प्रयास गरेका थियौ, तर सकेनौँ ।’

पीडितको निधनपछि उनकी बहिनीले भनेकी छन् कि परिवार यो घटनाबाट डराउने छैन र न्यायको लडाईँ जारी राख्ने छ ।

बलात्कार गर्नेहरुलाई फासीको सजाय हुनु पर्ने उनले माग गरेकी छन् । अपराधी विरुद्ध अदालतमा आफूहरुले लडाईँ जारी राख्ने पीडितकी बहिनीले बताएकी छन् । उन्नाव बलात्कार घटनाकी पीडितलाई जिउँदै जलाउने प्रयास भएको थियो ।

डाक्टरका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो। अस्पताल भर्ना गर्दा उनको अवस्था अति गम्भीर थियो । उनलाई जिउँदै जलाएको आरोपमा उत्तर प्रदेश प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।