बुर्किना फासोमा चर्चमा बन्दुकधारीको आक्रमण, कम्तिमा १४ जनाको मृत्यु



अफ्रिकी देश बुर्किना फासोको एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गएको छ । देशको पूर्वी क्षेत्र हान्तोउकोउरामा रहेको चर्चमा आइतबार भेला भएकाहरुलाई लक्षित गरी आक्रमण भएको हो ।

आक्रमणकारीको पहिचान तथा आक्रमणको उद्देश्य थाहा भएको छैन । बुर्किना फासोमा पछिल्ला केही वर्षयता हिंसात्मक गतिविधि बढेका छन् । विशेष गरी मालीसँगको सीमा क्षेत्रमा जातीय तथा धार्मिक तनाव बढेका कारण हिंसाले तीव्रता पाएको हो ।

स्थानीय गभर्नरले जारी गरेको व्यक्तव्यमा आक्रमणमा परी धेरै मानिस घाइते भएको उल्लेख गरिएको छ । बन्दुकधारीको आक्रमणमा मारिने पादरी र बालबालिकासमेत रहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

आक्रमणपछि बन्दुकधारीहरु स्कूटरमा भागेको अर्को स्रोतले उल्लेख गरेको छ । गएको अक्टोबरमा मस्जिदमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको थियो ।