बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा



रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एलाभेसलाई २–१ ले पराजित गरेको रियल मड्रिड बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

अवे मैदानमा भएको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो । रियल मड्रिडका लागि ५२ औँ मिनेटमा सर्जियो रामोस तथा ६९ औँ मिनेटमा डानी कार्वाहालले गोल गरेका हुन् । एलाभेसका लागि ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा लुकास पेरेजले गोल गरे ।जितपछि शीर्ष स्थानमा पुगेको रियल मड्रिडको १४ खेलबाट ३१ अंक भएको छ।

दोस्रो स्थानमा झरेको बार्सिलोनाको १३ खेलबाट २८ अंक छ । शनिबार राति नै भएका अरु खेलमा रियल सोसिडाडले एइबरलाई ४–१, रियल बेटिसले मोलार्का तथा भ्यालेन्सियाले भिल्लारियललाई समान २–१ ले पराजित गरेका छन् ।