प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार हुँदै, आज केहीबेर हिँडाउने तयारी



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बुधबार रातभर ओलीको स्वास्थ्य थप सुधार हुँदै गएको र अब उनलाई ठोस खानेकुरा खुवाउने तयारी भएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका हुन् । बुधबार डायलासिस गरिएका प्रधानमन्त्री ओलीलाई आज केहीबेर हिँडाउने तयारी पनि रहेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ । प्रारम्भिक परीक्षणमा प्रधानमन्त्री केपी ओलीलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो।

रगत र पिसाब जाँच तथा एक्से र भिडियो एक्सरे परीक्षणपछि डाक्रटहरु निष्कर्षमा पुगे–प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन्, पेरिटोनाइटिस भएको हो। स्वास्थ्यमा सुधार हुँदै गएपछि बुधबार बिहान उनलाई भेन्टिलेटरबाट हटाइएको थियो ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गौलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् ।