२० देशको क्षेत्रीय संगठनको महासचिवमा नेपाली नागरिक आचार्य



काठमाडौँ । एसिया र प्रशान्त क्षेत्रका २० देशको सवैभन्दा ठूलो ट्रेड युनियन संगठन युएनआई एप्रोको महासचिवमा नेपाली नागरिक राजेन्द्रकुमार आचार्य निर्वाचित हुनुभएको छ । लामो समयदेखि श्रमिकको हक अधिकारको क्षेत्रमा क्रियाशिल आचार्य युएनआई एप्रोको महासचिवमा पाँच बर्षका लागि निर्वाचित हुनुभएको हो ।

एसिया र प्रशान्त क्षेत्रका २० देशका ६ सय भन्दा बढी प्रतिनिधिहरु सम्मिलित क्षेत्रीय सम्मेलनले उहाँलाई महासचिवमा निर्वाचित गरेपछि एसिया र प्रशान्त क्षेत्रको श्रमिक अभियानमा नयाँ अध्याय सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । यो खबरसँगै नेपाल र नेपालीहरुले पनि खुशीयाली र गौरब महशुष गरेका छन् । विषेश गरेर श्रमिक अधिकारको क्षेत्रमा क्रियाशिल अगुवाहरुले महासचिवमा आचार्यको चयनलाई नेपालीको सक्षमता पुष्टी गर्ने अर्को महत्वपूर्ण अवसरको रुपमा लिइएको बताएका छन् ।

महासचिवमा नवनिर्वाचित आचार्यलाई बधाई दिन आयोजित कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले आचार्यको सफलता नेपाल र नेपालीको सफलतासँग जोडिएको बताउनुभयो । नेपालीले पनि राम्रो गर्न सक्छन् भन्ने देखाउन पनि उहाँलाई नेपाल र नेपालीको तर्फबाट सहयोग हुनुपर्ने लामिछानेको भनाई छ ।

युनिमी नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित महासचिव आचार्यले नेपालको श्रमिक आन्दोलन प्रभावकारी र परिणाममुखी भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत हुन आफुलाई सजिलो र गौरब हुने बताउनुभयो ।

नेपालमा कुल श्रमिक मध्ये ७ प्रतिशत मात्रै श्रमिक संगठनहरुमा आबद्ध रहनु सन्तोषजनक नभएकाले श्रमिक संगठनमा आबद्ध हुनेहरुको संख्या बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । विकसित देशमा श्रमिक संगठनमा आबद्ध हुनुलाई अनिवार्य र आधारभूत आवश्यकताको रुपमा लिइएपनि नेपालमा नकारात्मक रुपमा लिइने गरेको आचार्यले बताउनुभयो ।

श्रमिक अधिकारको अभियानलाई श्रमिक र रोजगारदाताको समन्वयकर्ताको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा युनिमीका निवर्तमान अध्यक्ष राजकुमार थापा, अध्यक्ष गोविन्द धिताल, महासचिव जीवन भण्डारीलगायतले नेपालमा श्रमिकमैत्री कानुनहरु बनाउन तथा कार्यान्वयन गराउन र श्रमिक आन्दोलनलाई सकारात्मक अभियानको रुपमा विकास गर्न आचार्यको अन्तर्राष्ट्रिय व्यक्तित्वका कारण सजिलो हुने विश्वास व्यक्त गर्नुभएको थियो ।