मंसिर १२ देखि भृकुटीमण्डपमा व्यापार मेला तथा हस्तकला प्रतियोगिता



काठमाडौँ-नेपाल हस्तकला महासंघको आयोजनामा १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता हुने भएको छ।

नेपाल हस्तकला महासंघले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता हुने भएको हो।

हस्तकला क्षेत्रमा संलग्न कलाकार तथा कालिगढहरुको प्रतिभा, पहिचान, मूल्यांकन एंव नयाँ पुस्तालाई समेत हस्तकला क्षेत्र प्रति आकर्षित गरी सिप तथा प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले विगत १७ वर्षदेखि मेलाको आयोजना गर्दै आएको आयोजकले जनाएको छ।

विशेषगरी १७ औँ मेलाको अवसरमा १५ औँ हस्तकला प्रतियोगिता ‘जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी’ परम्परागत विधातर्फ ‘धातुको भाडाकुडा बनाउने’ एंव समयसामायिक विधातर्फ फरक क्षमता भएका ‘चित्रकला विधा’ मा संलग्न कलाकार तथा कालिगढहरुबीच प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी संचालन गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

हस्तकला प्रतियोगितामा प्रथम विजेतालाई ५० हजार द्धितीयलाई ३० हजार र तृतियलाई २० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।उक्त मेलामा ८ प्याभिलियनसहित करिब दुई सय स्टलहरु रहनुका साथै भारत, श्रीलंका, बंगलादेश लगायतका अन्र्तराष्ट्रिय व्यापारीहरुका २० स्टहरु रहने आयोजकले जानकारी दिएको छ।उक्त मेलामा करिब एक लाख आगन्तुक आउने अनुमान आयोजकको छ।

जसमध्ये २० हजार आगन्तुकलाई निशुल्क पासको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। यस्तै मेलामा अवलोकन गर्न ५० रुपैयाँको निकटको व्यवस्था गरिएको छ भने विद्यार्थीवर्गलाई ५० प्रतिशत सहुलियतको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।

तर जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। विशेष उक्त मेला निर्यातकर्ता, आन्तरिक उपभोक्ता, थोक तथा खुद्रा विक्रेता र अन्तराष्ट्रिय क्षेत्रका उद्यमी, व्यवसायी आयातकर्तालाई लक्षित गरिएको आयोजकको भनाई छ।