दोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी, देवी घर्तीले ल्याईन सबै भन्दा बढि मत (सूचि सहित)



पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश विजी विजयी हुनुभएको छ ।  उहाँले प्रतिश्पर्धी विष्णु खत्रीलाई झिनो मत अन्तरले पराजित गरी विजयी हुनुभएको हो ।

विजीले ५८४ मत ल्याएर विजयी हुनुभएको छ भने प्रतिश्पर्धी खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियो ।  खत्री यसअघिको निर्वाचनमा पनि पराजित हुनुभएको थियो । उहाँलाई नेकपा निकट दोहोरी कलाकारहरुले आफ्नो उम्मेदवारको रुपमा प्रचार गरेपछि नकारात्मक असर परेको बताइएको छ ।

स्पष्ट राजनीतिक प्रभाव नदेखिएको प्रतिष्ठानमा राजनीतिक चलखेल गर्न खोजेको भन्दै खत्रीलाई पार्टीगत उम्मेदबारका रुपमा उठाउनेहरुको आलोचना भएको थियो । गत स्थानीय तहको निर्वाचनमा खत्री नेकपा माओवादीको तर्फबाट उम्मेदबारका लागि सिफारिस हुनुभएको थियो ।

पोखरामा भएको सातौँ महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुको पनि मतपरिणाम सार्वजनिक भएको छ । प्रतिष्ठानको १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान भएको थियो । मतदान भएको पदाधिकारी मध्ये कोषाध्यक्षमा राजु ढकाल, सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी हुनुभएको छ ।

त्यसैगरी सात खुल्ला सचिवमा १३ जनाको उम्मेदवारी परेकोमा जीवन दाहाल, रशेमराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुस्कर शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी केन्द्रीय सदस्यहरुको पनि मत परिणाम सार्वजनिक भएको छ । प्रतिष्ठानमा महिला सात, खुल्ला १२, हरेक प्रदेशबाट एक एक र विदेशबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचनमा प्रतिश्पर्धा गरेको सवै उम्मेदवारहरुको नामावली र उनीहरुले प्राप्त गरेको मत परिणामसहितको सूची पनि यसैसाथ संलग्न छ । यसअघि निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल रहनु भएको छ ।

त्यसैगरी महासचिवमा सुवास केसी नै दोहोरिनु भएको छ भने उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको महाधिवेशनका लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।