अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि माइकल ब्लुमबर्ग उम्मेदवार



अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा थपिएका छन् अर्बपति माइकल ब्लुमबर्ग । न्युयोर्क सिटीका पूर्व मेयर समेत रहेका ब्लुमबर्ग डेमोक्र्याटिक पार्टी तर्फबाट उम्मेदवार बन्ने होडमा औपचारिक रुपमा सामेल भएका हुन् ।

उम्मेवारीको औपचारिक घोषणाका लागि जारी गरेको वक्तव्यमा ब्लुमबर्गले ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिका पुननिर्माणमा लागि’ आफ्नो उम्मेदवारी रहेको उल्लेख गरेका छन् । ७७ वर्षका ब्लुमबर्गले भनेका छन्, ‘यो चुनाव हामीले कुनै पनि अवस्थामा जित्नु पर्छ ।’ उनले उम्मेदवारी प्राप्त गर्नका लागि अरु १७ डेमोक्र्याटिक नेताहरुसँग प्रतिस्पर्धा गर्ने छन् ।

अहिलेलाई पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन र बर्नी सान्डर्स तथा मेयर पिट बुट्जजलाई उम्मेदवारी प्राप्त गर्ने होडमा अघि रहेको मानिएको छ । ब्लुमबर्गले अहिले उम्मेदवारीको होडमा रहेकाहरु राष्ट्रपति ट्रम्पलाई पराजित गर्नका लागि चाहिने जति बलियो नरहेको बताएका छन्। ब्लुमबर्ग अमेरिकाका धनाढ्यको सूचिमा आठौँ नम्बरमा आउँछन् ।

फोर्ब्सका अनुसारको उनको खुद सम्पती ५४।४ बिलियन अमेरिकी डलर छ । उनी सन् २००१ मा न्युयोर्कको मेयर भएका थिए । त्यसपछि लगातार तीन कार्यकाल उनले मेयरका रुपमा बिताए । उनी सन् २०१३ सम्म मेयर थिए ।