सिमा विवाद छाडेर विदेश गएको भन्दै मन्त्री प्रदीप ज्ञवालीको आलोचना



काठमाडौँ । भारतसँगको सिमा विवाद समाधान गर्न छाडेर रुस भ्रमणमा गएको भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आलोचना भएको छ । औपचारिक भ्रमणका निम्ति उहाँ हिजो अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेपछि उहाँको आलोचना भएको हो ।

ज्ञवाली नेतृत्वको नेपाली टोलीले एक हप्ता लामो भ्रमणका क्रममा सर्वियाको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

नयाँ सिमाना सहितको नक्शा भारतले सार्वजनिक गरेपछि जनस्तरबाट चर्को विरोध भइरहेपनि सरकारले प्रभावकारी र ठोस कदम चाल्न नसकिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवाली एक हप्ता लामो विदेश भ्रमणमा निस्कनु भएको हो ।

कुटनीतिक पहल गरेर विवाद समाधान गर्ने मुख्य जिम्मेबारी भएर मन्त्री नै एक हप्तासम्म विदेशतिर गएपछि तत्काल विवाद समाधान नहुने देखिएको छ । भारतको नयाँ नक्शाका विरुद्धमा स्पष्ट अडानका साथ सरकार उभिन नसकिरहेको बेला मन्त्री ज्ञवाली सचिवसहित विदेश भ्रमणमा जानुलाई विरोधमा उत्रिएका नेपालीलाई थकाउने रणनीतिका रुपमा पनि लिइएको छ ।

विपक्षमा रहदाँ राष्ट्रवादका नाममा चर्को भाषण गरेपनि अहिले भने भारत सामू निरिह भएकाले यसलाई छल्न र आम नागरिकको दवाव नसुनेझै गर्न मन्त्री र सचिव विदेश भ्रमणमा गएको कुटनीतिक क्षेत्रका विज्ञहरुको टिप्पणी छ ।