राष्ट्र बैंक प्रतिवेदनः रेमिट्यान्स ओरालो तिर, मुल्यबृद्धि उकालो तिर



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको छ । गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो । मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल स्रोत मानिएको रेमिट्यान्स अब बढ्ने सम्भावना कम भएको राष्ट्र बैंकको ठहर छ ।

भन्सारमा कडाइ गर्नेदेखि सम्पत्ति शुद्धीकरणमा चनाखो भएको सरकारले अनौपचारिक अर्थतन्त्र खुम्च्याउन सफल भएपनि रेमिट्यान्स घट्नुको कारण विदेशमा नेपालीको आम्दानी घटेको र विदेश जानेको संख्या नै कमि हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पनि गत वर्ष विदेश श्रम स्वीकृति लिनेको संख्या झण्डै ३५ प्रतिशत घटेको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकले पेट्रोलियम पदार्थ, मेसिनरी र पार्टपूर्जा तथा विद्युतीय उपकरणको आयात खुम्चिएको देखाएको छ । कच्चा पाम तेल, स्टिलका पाता, कच्चा फलाम यातायात उपकरण र पार्टपूर्जाको समेत आयात घटेकाले अर्थतन्त्र संकुचित हुन पुगेको बताइएको छ । सरकारी अधिकारीले अर्थतन्त्रको विस्तार नघट्ने जिकिर गरिरहँदा केन्द्रीय बैंकको तथ्यांकले यस्तो देखाएको हो ।

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र फेरि उच्च मूल्यवृद्धिको चपेटातर्फ लम्किँदै गरेको र उपभोक्ता मुद्रास्फीति ६.४ प्रतिशत पुगेको जनाएको छ । गएको साउनदेखि असार मसान्तसम्म ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको वस्तु आयात भएको राष्ट्र बैंकको भनाई छ ।