प्रधानमन्त्री ओलीको चेतावनी-‘फागुनसम्म राम्रो काम नगरे पुन: मन्त्री हेरफेर गरिन्छ’



काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले आगामी फागुन महिनामै फेरि मन्त्रिपरिषद हेरफेर गरिने बताएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सोचे अनुरुप काम नभए फागुनमा मन्त्रिपरिषद हेरफेर हुने बताए । ‘चार दिनपछि चौमासिक समीक्षा बैठक हुन्छ, बैठकमा प्रष्ट कार्यायोजना लिएर आउनुहोला’ ओलीले भने, ‘त्यस अनुसारको काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुन्छ ।’

ओलीले प्रतिफल निस्कने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिए । काम गरे नसकिने होइन भन्दै उनले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन् । सरकारको समर्थ्यमाथि जनताको विश्वास रहेकार तत्परतामाथि अविश्वास गरेको प्रधाननमन्त्री ओलीको विश्लेषण थियो । ‘सरकारले चाहेको बेला त एक हप्तामा सडक चिल्लो हुँदोरहेछ नि भनेर जनताले भनिरहेका छन्’ उनले भने, ‘एक हप्तामा सवै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने ?’

प्रधानमन्त्री ओलीले जसको जिम्मेवारी हो, उसले काम गर्नुपर्ने बताए । ‘काठमाडौंको खाल्डाको गीत कति सुन्ने ? जहिले सुन्यो, त्यही सारंगी बज्छ । टेलिभिजन खोल्यो उही सारंगी, रेडियो खोल्यो उही सारंगी, अनलाइन हेर्‍यो उनी सारंगी’ उनले भने, ‘यो आगामी चौमासिकभित्र काठमाडौंका सबै खाल्डा समाप्त हुनुपर्छ ।’ ओलीले चिनियाँ राष्ट्रपति नेपाल आउँदा रातारात काम गर्न सक्ने अरु बेला नसक्ने भन्ने कुरा अब आफूलाई सहिय नहुने भन्दै प्रतिफल निकाल्ने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिए ।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला काठमाडौंका सडक ७ दिनभित्र सफाचट र टिलिक्क हुन सक्ने अरु बेला किन हुन नसक्ने भन्दै जनताले प्रश्न गरेका छन्’ उनले भने, ‘अब दायाँबायाँ, यताउता केही छैन, सडक त्यस्तै बनाउनुहोस सडकको काम असरल्ल बनाउने होइन, आइन्द यस्तो हुनुहुँदैन ।’ ‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्को निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ उनले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्‍यो ।

अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनु पर्‍यो ।’ विकासका लागि सरकारको सामर्थ्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले काम कारवाहीमा तत्परता अपनाउन निर्देशन दिए ।