राधाको प्रश्न- हाम्रो देशमा सरकार छ ?



राधा पोखरेल । ‘नित्य कर्म’ सकेर न्यूज तिर आँखा दौडाउ्दै थिएँ “डा केसीको स्वास्थ्य अवस्था अस्पतालको क्षमताभन्दा बाहिर” भन्ने समाचारले मुटु नै चिसो भयो । तपाईँहरुलाई के ढाट्नु ‘मुटुरोगी’ झन्डै अस्पताल नै जानु परेको !

सरकारविनाको राज्य हुँदैन । राज्यविनाको नागरिक हुँदैन । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानवअधिकार हो । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ, के हाम्रो देशमा सरकार छ ?

देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ?  यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो । एउटा नागरिकको हैसियतले बोल्नुपर्दा डा. गोबिन्द केसीले जुन कदम उठाएका छन् त्यो आवेगमा आएर पक्कै उठाएका होइनन् होला ।

नेपालको सन्दर्भमा डा. केसी भ्रष्टाचारविरूद्ध उभिएका एक योद्धा हुन् । अभियन्ता हुन् । सदाचारका एक प्रतीक हुन् । विशेष गरेर चिकित्सा क्षेत्रमा हुने गरेका र भइरहेका भ्रष्टाचारविरूद्ध उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ ।

लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन ।अब प्रश्न उठ्छ, के डा. केसी अराजक हुन्? उनका अभिव्यक्ति अमर्यदित छन् ? डा.केसी पक्कै पनि अराजक होइनन् । उनले आजसम्म बिरोधको जुन शैली अपनाइरहेका छन, त्यो पूर्णरुपमा संविधानसम्मत छ ।

अन्त्यमा, सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू र सरकार निर्माणको अंकगणित मिलाइरहनुभएका भावी प्रधानमन्त्रीज्यू, कृपया तपाईँहरूको दोहोरी बन्द गर्नुहोस् । दसऔंला जोडी बिन्ती छ ।

अस्पताल गएर डा.केसीलाई भेट्नुस्, र जीवन बचाउनुस् । न्याय मर्न नदिनुस् ।

पोखरेल नेपाल पुजीँ बजार लगानिक कर्ता संघकी अध्यक्ष हुन् ।