नदिको जलकुम्भी: किसानलाई पिर, खेती गर्ने समयमा खेतमा जम्यो पानी

गहुँ, तोरी लगाउने समयमा खेतमा पानी भरिएपछि किसानहरु चिन्तित


हरिश चन्द्र बाग, कञ्चनपुर ।

बेलौरी नगरपालिका ८ र १० नम्बर वडा हुँदै भारत तर्फ बग्ने सुतिया नदिमा जलकुम्भी भरिएपछि नदि आसपासका हजारौँ किसानहरु मर्कामा परेका छन् । नदिमा अत्यधिक जलकुम्भी भरिएपछि नदिको पानी किसानका खेतमा जम्मा भएको बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्द कुमार रानाले बताए ।

आसपासका क्षेत्रमा किसानले लगाएको उखु डुवानमा परेको छ, भने गहुँ, तोरी तथा दलहन लगाउने समयमा खेतमा पानी भरिएपछि किसानहरु चिन्तित भएका छन् । बेलौरी नगरपालिका वडा नम्बर ८ को धेरै र वडा नम्बर १० को केही भूभागमा नदिले क्षति पुगाएको वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरीले बताए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य कुलबीर चौधरीको नेतृत्वमा उक्त प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ ।

बेलौरीको कानपुर देखि भारतीय क्षेत्र बजारघाट र क्रसर शारदापुरी सम्म स्थलगत अनुगमन गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) संग समेत सोही विषयमा छलफल भएको सशस्त्र प्रहरी बल बडर आउट पोष्ट बेलौरीका प्रहरी निरीक्षक रोशन नाथले जानकारी दिए ।

नेपाल तर्फ महाकाली सिंचाईँको नहरले पानी सुतिया नदिमा छोडेको र भारत तर्फ बजारघाटमा बनाइएको ह्युमपाइपबाट पानीको बहाव घटेर पानी निकास कम हुनु मुख्य कारण रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका जिल्ला सदस्य पल्लव राज भट्टको ठम्म्याई छ ।

भारत तर्फ भारतीय क्षेत्रका जनप्रतिनिधि र नेपाल तर्फ नेपाली जनप्रतिनिधिहरुको सकृयतामा दुवै देशका नागरिकहरु मिलेर नदिमा जमेको जलकुम्भी सफा गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । स्थानीय पीडित जनताले आफुसंग समस्या राखेपछि प्रदेश सभा सदस्य, महाकाली सिचाईका क्षेत्रीय अध्यक्ष, सशस्त्र प्रहरी समेतलाई बोलाई स्थलगत अनुगमन गरिएको उहाँले दाबी गरे ।

त्यस्तै, यस विषयमा महाकाली सिंचाई कार्यालयमा छलफल गरी तत्काल सुतिया नदिमा पानी नछोड्ने र भारतीय पक्ष संग समन्वय गरी नदि सफाइ गर्ने महाकाली सिंचाईका क्षेत्रीय अध्यक्ष बीर बहादुर बडवालले बताए । सोही विषयमा भारतीय पक्ष पनि सकारात्मक देखिएको छ ।