युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा



इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गरेको युभेन्टसले नकआउट चरणमा स्थान बनाएको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि आरोन रामसी र डुग्लस कोस्टाले गोल गरे । लोकोमोटिभ मस्कोका लागि अल मिरानचुकले एक गोल फर्काए ।

क्रिष्टियानो रोनाल्डोको फ्रि–किक प्रहारलाई तेस्रो मिनेटमा नै रामसीले गोलको दिशा दिएका हुन् । १२ औँ मिनेटमा अल मिरान्चुकले मस्कोका लागि बराबरी गोल फर्काए । तर इन्जुरी समयको तेस्रो मिनेटमा कोस्टाले गोल गर्दै युभेन्टसलाई जित दिलाए ।

चार खेलबाट १० अंक जोडेको युभेन्टस कम्तिमा समूहको उपविजेताको रुपमा अन्तिम १६ मा पुग्ने पक्का भएको हो ।

समूह डी अन्तर्गत नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिड बायर लेभरकुजनसँग २–१ ले पराजित भएको छ । तर पनि सात अंकसहित उ दोस्रो स्थानमा छ ।