नेपाल सरकारले ४ दिनपछि भन्यो ‘कालापानी क्षेत्र नेपालको भू-भाग हो’



भारतले आइतबार जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र आफ्नो सीमामा पारेको चार दिनपछि नेपाल सरकारले कालापानी क्षेत्र आफ्नो भूगोल भएको स्पष्ट पारेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भारतले आफ्नो सीमामा कालापानी पारेकोप्रति ध्याकर्षण भएको उल्लेख गरेको छ।‘भारत सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ।

कालापानी क्षेत्र नेपालको भुभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ। नेपाल तथा भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देश बीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको स्मरण गर्दै नेपाल सरकारले विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट पारेको छ।

गोलो घेराभित्र लिपुलेक।
नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरु बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेकोसमेत नेपाल सरकारले उल्लेख गरेको छ।

भारतले जम्मु तथा कास्मिरलाई लद्दाखसहित दुई राज्यमा टुक्र्याएर केन्द्रशासित बनाएपछि जारी गरेको नयाँ नक्सामा कालापानी आफ्नो सीमाभित्र पारेको छ। कुटनीतिक क्षेत्रका विज्ञ, राजनीतिक दल, राजनीतिज्ञ तथा सर्वसाधारणले भारतले गैरजिम्मेवार कदमको विरोध गरेपछि सरकारको प्रतिक्रिया आएको हो।

हिन्दू राष्ट्रवादी सरकारले जम्मू(कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिदिएको थियो।उक्त निर्णयानुसार अब जम्मू(कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन्।

पहिले जम्मु(कश्मीर राज्यकै भाग रहेको बौद्धमार्गीको बाहुल्य भएको लद्दाख क्षेत्र छुट्टै एकाइ बनेको छ।