नेपाल भारत सिमा विवादः नेपालमा दवाव, मुख खोल्यो भारतले



नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा उत्पन्न असन्तुष्टिलाई भारतीय सर्वेक्षण विभागका एक वरिष्ठ अधिकारीले “दुई देशका धारणा भिन्नभिन्न रहे पनि त्यसलाई आफूहरूले विवादास्पद भूमि नमान्ने” बताएका छन्।

नक्सा नयाँ नभएको तर्क गर्दै भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले भने, “यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन।” “नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो,” बुधवार बीबीसी नेपालीसँग कुरा गर्दै उनले भने।

नेपालको परराष्ट्र मन्त्रालयले भने यस बिषयमा “बुझ्ने काम भइरहेको” बताएको छ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी भारतभित्र परेको भन्दै नेपालका राजनीतिक नेता, नागरिक समाजले विरोध जनाइरहेका छन्। यसबारे भारत के भन्छ ?

यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन। हामीले यो नक्सा केही दशकयता नै चलाइरहेका छौँ। झन्डैझन्डै भारत विभाजनका बेलादेखि नै। नक्साबारे कुरा गर्ने हो भने हामीले यसपटक देशको सीमा परिवर्तन भएको नक्सा सार्वजनिक गरेका होइनौँ।

तर कालापानी आफ्नो भएको नेपालको भनाइ छ। त्यसमा उत्पन्न विवादलाई समाधान गर्न भनेर परराष्ट्रसचिव स्तरमा द्विपक्षीय संयन्त्र पनि छ। त्यसमा यो कुरा बेवास्ता भएको होइन?

हेर्नुहोस्, दुवै देशका यस विषयमा फरकफरक धारणा होलान्। यसमा म तपाईँसँग सहमत छु। हामी यसबारे हुने छलफललाई पनि निरन्तरता नै दिनेछौँ। नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो।

विवादित भूमि नै मान्ने हो भने पनि दुई देशबीच नक्सा जारी गर्दा छलफल हुनुपर्थ्यो होला नि?

विवादित भन्ने कुरा पनि वहाँहरूको भनाइ हो, हाम्रो होइन। तर हामी यसबारे छलफललाई निरन्तरता दिनेछौँ। यो ७० वर्षयतादेखि चलेको सीमा हो।

अब नेपालले औपचारिक रूपमा वा संयन्त्रमा यसबारे कुरा उठायो भने भारतको भनाइ के हुन्छ?

परराष्ट्रसचिव स्तरीय द्विपक्षीय संयन्त्रको अजेन्डा बनाउने मान्छे म होइन। तर पक्कै पनि वहाँहरूले कुरा गरिरहनुभएकै होला। तर हामीले जे देखाइरहेका छौँ त्यही नै हाम्रो स्थान हो। त्यसैले यो केही नभएको कुरालाई मुद्दा नबनाऔँ। बाह्य रूपमा केही नचलाएको यो नक्सामा आन्तरिक रूपमा पनि हामीले केही परिवर्तन गरेको नभई केही मिलाएका मात्र हौँ।

बिबिसी नेपालीबाट