घुक्र्याएर हिँडेपछि देउवाले दिए पौडेल र सिटौला पक्षलाई पनि टिकट



कात्तिक । कांग्रेसले मनोयनको एक दिनअघि एक प्रतिनिधिसभा र तीन प्रदेश सभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ । कास्की २ प्रतिनिधिसभा क्षेत्रमा कास्कीकै कांग्रेसका पुराना नेता खेमराज पौडेलले टिकट पाएका छन् ।

तत्कालीन एमालेबाट विजयी रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि हुन लागेको सो क्षेत्रको उपनिर्वाचनमा अब पौडेलले अधिकारीकै श्रीमती विद्या भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, बाग्लुङ २ (ख) मा जित शेरचन, दाङ ३ (ख)मा केशव आचार्य र भक्तपुर १ (क) मा कृष्ण भँडेल प्रदेश सभातर्फ उम्मेदवार बनेका छन् । बिहीबार मनोनयन दर्ता हुँदै छ ।

दुई दिन लगातार बैठक बस्दा पनि उम्मेदवारको टुंगो लाग्ने नदेखेपछि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष घुक्र्याएर हिँडेका थिए । बुधबार दिउँसो सभापति शेरबहादुर देउवालाई ‘तपाईं नै टुंगो लगाउनुस्’ भनेर पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र नेता कृष्णप्रसाद सिटौला बाहिरिएका थिए ।

तर, उनीहरू बाहिरिएको केही बेरमा उनीहरू पक्षका नेतालाई पनि टिकट दिएर पार्टी संस्थापन पक्षले चार उम्मेदवारको टुंगो लगाएको हो । भागबन्डाअनुसार कास्कीका पौडेल र भक्तपुरका भँडेल संस्थापन, दाङका आचार्य पौडेल र बाग्लुङका शेरचन सिटौला पक्षका हुन् । तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेताहरूबीच सहमतिमै उम्मेदवारको टुंगो लागेको जानकारी दिए ।