हात्ती धपाउन लगाइएको करेन्ट लागेर झापामा मामा–भान्जाको मृत्यु



झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।

दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्र भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।