श्रम समझदारी कार्यान्वयनका लागि नेपाल र युएईबीच छलफल हुँदै

बैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदै


नेपाल र युएईबीच भएको श्रम समझदारी एमओयु को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको पहिलो बैठक भोलि काठमाडौँमा बस्दै छ ।

दुई देशबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा दुई दिनसम्म छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले गर्नुहुने छ । यस्तै युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन् ।

बैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदैछ । बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन् ।