दिपावलीका लागि यस बर्ष अघिल्लो बर्ष भन्दा कम विजुली खपत



वर्षभरमा सवै भन्दा धेरै विद्युत खपत हुने लक्ष्मीपुजाको दिन अघिल्लो बर्ष भन्दा यस बर्ष कम विजुली खपत भएको छ ।

दिपावलीका लागि गत वर्ष लक्ष्मीपूजाका दिन १ हजार १ सय ५ मेगावाट पुगेको विद्युत खपत यस वर्ष भने १ हजार ८९ को अंकमै खुम्चिएको छ । अघिल्लो वर्षको भन्दा यस वर्षको विद्युत माग १६ मेगावाट कम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस वर्ष लक्ष्मीपूजाको बेलुका ६ बजेदेखि ७ बजेसम्मको समयमा सबैभन्दा बढी विद्युत खपत भएको छ । सो समयमा काठमाडौं उपत्यकामा मात्र ३ सय ३१ मेगावाट विद्युत खपत भएको छ । जुन देशभर भएको विद्युत खपतको करिब एक तिहाई अर्थात् ३० दशमलव ३९ प्रतिशत हो ।

अधिकतम माग भएको समयमा नेपालको उत्पादनबाट ९ सय ८१ मेगावाट विद्युत माग धानेको छ । कुल विजुली मध्ये नेपाल विद्युत प्राधिकरणले उत्पादन गरेको ५ सय ४६ मेगावाट र निजी क्षेत्रले उत्पादन गरेको ४ सय ३५ दशमलव ५३ मेगावाट विद्युत खपत भएको प्राधिकरणले जनाएको छ ।